लामो समयसम्म पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्।

पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्‍याएको जानकारी दिए।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो, त्यसपछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन् त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको हो,’ उनले भने। Source: Global Nagarik