जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू नआएको भन्दै कार्यालयको गेटमै तालालाबन्दी गरिएको हो ।

एउटै कामको लागि बारमबार नगरपालिकामा आउदा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी नआएर निकै सास्ती भोग्नु परेको भन्दै स्थानिय सेवाग्राहीहरूले तालाबन्दी गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो ।

करिब दिनको २:३० बजे लगाईएको ताला साझ ५ बजे उपप्रमुख भोलाप्रसाद अधिकारीको सहयोगमा खोलिएको थियो ।

यता ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिम कार्यालयको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुनेगरि वडा नं ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले विना कारण, पूर्व जानकारी नदिई नगर कार्यपालिकाको कार्यालयको मूल गेटमा २०७९ साउन १८ गते दिउँसो २ः३० बजे तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्यसञ्चालनमा बाधा पुर्याएकोले निजलाई कानुन बमोजिम कारबाहीका लागि अनुरोध छ ।’ उल्लेखित ब्यहोराको पत्र जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बुधबार जिल्ला प्रशासन कार्यालय बारालाई पठाउनै लागेका थिए । तर वडा नं. ७ स्थित जीतपुरसिमरा कार्यपालिकाको कार्यालयको मूल गेटमा लागेको ताल्चा खुलेपछि उनले पत्रमा हस्ताक्षर गरेनन् ।

तर यता वडा अध्यक्ष गुप्ताले भने नगरपालिकामा तालाबन्दी आफुले नगरेको दावी गरेका छन् । उनको अनुसार नगरपालिकामा सेवा लिन आएका सेवाग्राहीले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत कोहि नभेटेपछि आक्रोशित भएर स्थानीय सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।