संघिय सरकारको विरुद्धमा मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु धर्नामा

  • वीरगञ्ज, २९ साउन ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आजदेखि धर्ना दिन सुरु गरेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्नामा बसेका हुन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा लगायतका मन्त्री एवम् प्रदेश सभा सदस्यहरु धर्नामा बसेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने छ ।

प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी समायोजन गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । एक सातासम्म धर्ना दिँदा समेत संघीय सरकारले ध्यान नदिएपछि अर्काे चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सरकारले बताएको छ ।