चितवन, ८ भदौ ।
नागरिकता विद्येयकलाई राष्ट्रघाती भन्नेहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाखण्डीको संज्ञा दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले नागरिकता विद्येयकलाई गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे ।
‘विद्येयकको सारतत्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा हो’, उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघात भन्नु पाखण्डबाहेक केही हुँदैन ।’
केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश नै विद्येयकका रूपमा आएको भन्दै प्रचण्डले अहिले एमालेले राष्ट्रघात भयो भन्नु बेइमानी र अनैतिक चरित्र भएको टिप्पणी गरे । वैवाहिक अंगीकृत नागरिकताका लागि ‘सात वर्षे प्रावधान’ राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा ओलीले नै नमानेको उनले आरोप लगाए ।
‘तत्कालीन नेकपामै हुँदा राज्य व्यवस्थाले पास गरेको प्रस्ताव मैले संसदमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो’, उनले भने, ‘यति छर्लङ्ङ कुरामा पनि भ्रम छर्दै राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहसमा सचेत नेपाली नागरिक भ्रमित हुनु हुँदैन ।’
वन तथा वातावरण मन्त्री प्रदीप यादवले नागरिकता विद्येयक जसरी पनि पास भएरै छाड्ने बताए । धैर्य भएर बस्न आग्रह गर्दै उनले नागरिकता विहिन नेपाली नागरिकल पहिचानको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा फेरि जस्ताको तस्तै पारित भएर राष्ट्रियसभामा पठाइएको जानकारी दिँदै उनले ढिलोचाँडो विद्येयक पास भएरै छोड्ने दावी गरे ।




