चार प्रदेशमा भारी वर्षाको सम्भावना

चितवन, भदौ १२–

आगामी २४ घण्टामा देशका चार प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे एक सूचना जारी गरी बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको हो ।

उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशै भरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।