बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

बाँके, पुस ३–

बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नं.को पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।