बारा, माघ १५ गते ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल विरगजं यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो । टाईब्रेकरमा बिरगजंका तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो ।
पहिलो हाफमा हनामी र यूनाईटेडले बाराबरी दुईदुई गोल गरे । खेलको २० औं मिनटमा हनामीका लागि जर्सी नं.११ का रोशन क्षेत्रीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै ३४ औं मिनटका बिरगजं यूनाईडका खेलाडी जर्सी नंं.११ कै अमर डंगोलले गोल फर्काए ।
एकएक गोल गरेका दुबैटिमका खेलाडी नतिजा आफ्नो पक्षमा पार्न हौसिएका बेला पुनः हनामी चितवनका तर्फबाट ३८ औं मिनटमा गणेश हमालले टिमका लागी दोस्रो गोल गरे । आक्रमक देखिएको हनामीले समालीएर खेल्न नसक्दा ४३ औं मिनटमा बिरगजं यूनाईटेडको दोस्रो गोल खान पुग्यो । यूनाईडका लागि उदित चौधरीले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । योसँगै पुनः खेल बराबरीमा गयो ।
खेलको पहिलो हाफमा दुई गोलको बराबरी खेलेका हनामी र यूनाइटे दोस्रो हाफमा रक्षात्मक बनेका थिए । दुई पक्षले दोस्रो हाफ गोल रहित बराबरी खेलेपछी अन्तत नतिजाका लागि खेल टाईब्रेकरमा लगिएको थियो ।
दुबैटिमबाट ५/५ बल प्रहारको मौका पाएपनि हनामी चितवनका रोशन क्षेत्रीले गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बाहिर गएको थियो । टाईब्रेकरमा हनामीका लागि सन्दीप सेन्चुरी,विकेश मगर,सुरज क्षेत्री र गणेश हमालले ४ गोल गरेका थिए ।
यसैगरी विरगजं यूनाईटेडका लागि श्याम चौधरी, विपिन मगर,रन्जय चौधरी, विशाल खड्का र सागर चौधरीले एकएक गोल गर्दै जीत आफ्नो फोल्टामा पार्न सफल भए ।
जितसँगै सेमिफाईनल प्रवेश गरेको विरगजं यूनाईटेडले आयोजक मौवादेवी यूवा क्लबसँगको भेट पक्का गरेको छ । मौवादेवी गत शनिबारको उद्घाटन खेलमा एन.वाई.सी. हरिवन सर्लाहीलाई पराजित गर्दै सेमीफाईन पुगेको छ । यी दुईटिम विलको पहिलो सेमीफाईनल खेल आगामी १७ गते हुने छ ।
आजको खेलमा हनामी बि.एफ.सी.का खेलाडी जर्सी नं.११का रोशन क्षेत्री मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार ५ सय पुरस्कार प्राप्त गरे । उनलाई स्थानिय सर्वसुलभ साकोसका अध्यक्ष विमलराज भारतीले पुरस्कार प्रदान गरेका थिए ।
भोलीको खेल बागमती यूवा क्लब सर्लाही र नवदुर्गा यूवा क्लब सिमरा बारा विच हुने छ । सिमराले स्थानियसँगै विदेशी खेलाडी मैदान उतार्ने जानकारी गराएको प्रतियोगिता आयोजक मौवादेवी यूवा क्लब मनहर्वाका सल्लाहकार समिति संयोजक बसन्त खतिवडाले जानकारी दिए ।
आगामी २० गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेता टिमले एकलाख रुपैंया पुरस्कार पाउने छन् । प्रतियोगिताको गत शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेका थिए ।



