वीरगञ्जमा क्रिकेटर आसिफ र आरिफ शेख सम्मानित

पर्सा, मंसिर १३।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आसिफ शेख र आरिफ शेखलाई वीरगञ्जमा भव्य स्वागत तथा सम्मान गरिएको छ। वीरगञ्ज महानगरपालिका–१२ र १३ अन्तर्गत नयाँटोल मुर्लीस्थित अञ्जुमन रिजविया इस्लाहुल मुस्लिमिनको आयोजनामा आयोजित विशेष कार्यक्रममा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका दाजुभाइ आसिफ र आरिफ शेखलाई सम्मान गरिएको हो।

नेपाली क्रिकेटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न उनीहरूले पुर्‍याएको योगदान, मेहनत, लगनशीलता र सफलताको कदर गर्दै आयोजक संस्थाले सम्मान गरेको जनाएको छ।

कार्यक्रममा समाजका वरिष्ठ व्यक्तित्व, बुद्धिजीवी, अगुवा तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

खेलाडीहरूलाई सम्मान गर्दै आयोजकले यस किसिमका कार्यक्रमले खेलकुद क्षेत्रमा लागेका प्रतिभाहरूलाई थप प्रोत्साहन मिल्नुका साथै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।