बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जको सरुवा

बारा, असार १४ गते ।

बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो ।

सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बार्गेनिङको आधारमा बढि पैसा दिनेलाई व्यस्त राजमार्ग र बजार क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिएर पठाएको बुझन सकिन्छ । बाराको जीतपुर क्षेत्रमा ट्राफिक प्रहरी नायव निरिक्षक वा ट्राफिक प्रहरी सहायक निरिक्षकको ठाँउमा हवलदारलाई इन्चार्जको जिम्मेवारी दिएर पठाइएको छ ।

लाखौं महिनवारी दिने सर्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक राम कुमार महतोले ट्राफिक पोष्टहरुको इन्चार्जको जिम्मेवारी दिएर पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको आन्तरिक स्रोतले जनाएको हो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महतोले बिना कुनै स्वार्थको ट्राफिक इन्चार्जहरुको सरुवा भएको बताएका छन् । लाखौं महिनवारी दिने सर्तमा इन्चार्जलाई सरुवा गरिएको विषयमा उनले यो गलत हल्ला रहेको बताए ।