एमालेको आरोप : बारा-३ मा चुनावी पोस्टरमाथि ‘घण्टी’ स्टिकर टाँसियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक रस्साकस्सी बढ्न थालेको छ। नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साहको चुनावी पोस्टरमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले ‘स्टीकर’ टाँसेको नेकपा एमालेले आरोप लगाएको छ।

एमालेका अनुसार निर्वाचन प्रचारका क्रममा नेकपा एमालेकी उम्मेदवार साहका पोस्टरहरू नियोजित रूपमा च्यातिएको र पोस्टरमा रहेको उम्मेदवारको अनुहार छोपिने गरी रास्वपाको निर्वाचन चिह्न ‘घण्टी’ को स्टीकर टाँसिएको छ। एमालेले यसलाई पूर्णतः अराजक कार्य भन्दै चुनावी आचारसंहिताको धज्जी उडाएको र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगारेको दाबी गरेको छ।

यता रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साहले भने उक्त आरोपको ठाडै खण्डन गरेका छन्। उनले आफ्नो पार्टीका कार्यकर्ताहरू यस्तो अस्वस्थ गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्। पार्टी-पार्टीबीच विवाद सिर्जना गरी द्वन्द्व गराएर चुनाव भाँड्ने कार्य नगर्न तथा अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन्। उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य दलहरूलाई पनि संयम रहन आग्रह गरेका छन्।