तीन बुँदे सहमतिपछि हरि खेतान क्याम्पसको तनाव मत्थर, विद्यार्थी आन्दोलन रोकियो

वीरगन्ज । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीच देखिएको विवादका कारण उत्पन्न तनाव अन्ततः तीन बुँदे सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ। सहमतिसँगै आन्दोलनरत विद्यार्थीहरूले आफ्नो प्रदर्शन स्थगित गरेका छन्।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा विद्यार्थी प्रतिनिधि, क्याम्पस सञ्चालक समिति र प्राध्यापकबीच भएको छलफलपछि सहमति जुटेको हो।

बैठकले क्याम्पसमा रोकिएका परीक्षा र नियमित पठनपाठन तत्काल पुनः सञ्चालन गर्ने, आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीको उपचार खर्च क्याम्पस प्रशासनले बेहोर्ने, तथा विद्यार्थीले उठाएका अन्य विषयमा सोमबार पुनः वार्ता गर्ने निर्णय गरेको छ।

यसअघि कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आइतबार बिहानै सडकमा उत्रिएका थिए। परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य प्रवेशद्वारमै रोकिएपछि स्थिति थप तनावपूर्ण बनेको थियो।

विरोध प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरीले बल प्रयोग गरेको थियो। घटनामा एक विद्यार्थी घाइते भएका छन् भने प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।