प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

काठमाडौं, चैत १२ – प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनाबारे गठित जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बुधबार बसेको निर्णयअनुसार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिनेछ।

यसअघि मंगलबार नेपाल बाल संगठन र बाल मन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो।

त्यसैगरी, गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णयसमेत भइसकेको जनाइएको छ। उक्त मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिने बताइएको छ।