धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम, चैत २०-

धनुषाको लालगढ क्षेत्रबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई बुधबार बिहान लालगढबाट ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरूलाई रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरी प्राप्त भएपछि अधिकारीमाथि निगरानी राखिएको थियो।

सोही क्रममा अख्तियारको टोलीले उनलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।