सिरहामा प्रहरीको गोली प्रहारपछि ६ जना लागूऔषध कारोबारी पक्राउ, दुई जना घाइते

सिरहाको लहान नगरपालिका–३ मा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले सञ्चालन गरेको अपरेशनका क्रममा ६ जना लागूऔषध कारोबारी पक्राउ परेका छन्।

काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले बिहीबार पक्राउ गर्ने क्रममा केही व्यक्तिले प्रतिरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको जनाएको छ।

गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। दुवैलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने पक्राउ परेकाहरूको विवरण र बरामद भएका सामग्रीबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिनेछ।