बारा । बारामा सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको हो ।
उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम पनि उपभोक्ता समितिबाट गराएको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख छ । कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिति बनाई खर्च गरेको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार जीतपुरसिमरा उप महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र २४ करोड ६ लाख ६ हजार बेरुजू रकम ठहर भएको छ ।
बेरुजू रकम प्रति वर्ष थपिँदै जानु उपमहानगरको लागि अहित हुने सङ्केत देखिएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फर्छ्योट गर्नु अहिले चुनौतीको विषय भएको छ ।
जिल्लामा परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम रु १ करोड ७१ लाख ९६ हजार रहेको छ । बारा जिल्लामा दुई वटा उपमहानगरपालिका, पाँच वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेका छन् ।




