मध्यरातिमा प्रहरीबाट वीरगञ्ज भन्सारका कार्यालय सहयोगी कुटिए

वीरगञ्ज । सोमबार (हिजो) मध्यराति वीरगञ्ज भन्सार कार्यालयका सहयोगी प्रहरीबाट कुटिएका छन् । मध्यराति करिब ११ः३० बजेको समयमा ड्यूटीमा रहेका वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बहबहादुर विशंखेलाई प्रहरीले दूव्र्यवहार गर्दै कुटपिट गरेको हो ।

सादा पोशाकमा २ जना र पोशाक लगाएर आएका १ जना प्रहरीले भन्सार कार्यालयको गेटमा खटिएका कार्यालय सहयोगीलाई दूव्र्यवहार गर्दै कुटपिट गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले प्रत्येक दिन राति १० बजेदेखि बेरियर बन्द गर्ने गर्छ । सोमबार राति बेरियर बन्द गरेको डेढ घण्टापछि करिब साढे ११ बजेको समयमा मादकपदार्थ सेवन गरेर आएका सादा पोशाकका २ जना पोशाकसहितका १ जना प्रहरीले भन्सारको बेरियर खोल्न भन्दै कार्यालय सहयोगीमाथि कुटपिट गरेको हो ।

मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै बेरियर खोल्न जबरजस्ती दबाब दिएको र एकैछिनमा कुटपिट गर्न थालेको विशंखेले जानकारी दिए । आफूहरु नेपाल प्रहरीको स्टाफ रहेको भनेपछि कार्ड हेराउन भन्दा पनि नटेरेको उनको भनाइ छ ।

प्रहरीको गाडी नभएको कारण आफूले कार्ड हेराउन भने पश्चात आफूमाथि तिनैजना जाइलागेको बताए । आफू बारा जिल्लाको प्रहरी सहायक निरीक्षक हो भनेपछि कार्ड माग्दा कार्डपनि नरहेको भनेपछि भन्सार प्रमुखलाई जानकारी गराई मात्रै बेरियर खोल्ने विशंखेले भनेपछि पोशाक लगाएका प्रहरी आएर आफूमाथि दूव्र्यवहार गर्दै कुटपिट गरेको बताए ।

यसबारे वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले गएराति साढे ११ बजेति भन्सारको ड्यूटीमा बसेका कर्मचारीमाथि हातपात भएको देखिन्छ । आउने मान्छेले प्रहरी हुँ भन्या छन्, उनीहरुको डे«स पनि छैन, परिचयपत्र पनि छैन, यथार्थ विवरण के हो भन्नेबारे सत्य तथ्य बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको बताए ।

बाहिरबाट बुझ्दा खेरी प्रहरी नै रहेको बुझिएको छ, सिसि क्यामरा सहितको भिडियो जिल्ला प्रहरी कार्यालय पर्सालाई पठाइएको छ, त्यसबारे प्रहरी उपरीक्षकले आफै अनुसन्धान गरि रहेको बताए । भन्सारका कर्मचारीहरुका अनुसार सीसी टिभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट गरिएको थियो ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरुका अनुसार त्यसरी कर्मचारीलाई दुव्र्यवहार गर्ने प्रहरीको टोली बाराका घुमुवा प्रहरीको टोली रहेको बताए । यता पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले हामीसँग फुटेज प्राप्त भएको छ, प्रहरी नै रहेको पुष्टि भइसकेको छ, उनीहरुलाई आवश्यक कारवाही गरिने बताए । Source: News24Nepal