बिरगंज, १७ भदाै ।
आयात–निर्यात परिमाणका आधारमा मुख्य नाका बिरगंजबाट मात्रै एक महिनामा ४३ अर्ब रुपैयाँ भन्दा बढी व्यापार घाटा भएको छ । बिरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को साउनमा ४३ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।
चालू आवको पहिलो महिनाको व्यापार घाटा गत आव २०७८/०७९ को सोही अवधिको तुलनामा ७ प्रतिशत बढी हो । गत आवको साउनमा ४० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा थियो । गत महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा आयात भने घटेको छ ।
निकासी व्यापार स्वात्तै घटेकाले व्यापार असन्तुलन बढेको भन्सारको तथ्यांकले देखाएको छ । बिरगंज नाकाबाट निकासी हुँने वस्तुको अग्रस्थानमा प्रशोधित खानेतेल रहेकोमा केही महिना देखि यसको निकासी खस्किएको छ । गत वर्ष तेलको निकासीले निर्यातमा केही भरथेग गरे पनि चालू वर्षमा यो सहुलियत बन्द भएको छ ।
नेपालका तेल उद्योगीले तेस्रो मुलुकबाट अर्ध प्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । भारतले आफ्नों देशमा तेल आयातमा उच्च दरको सीमा शु:ल्क लगाएकाले नेपालबाट निकासी सम्भव भएको थियो । नेपालका उद्योगीले भन्सार सहुलियतमा निकासी गर्दै आएका थिए ।
पछिल्लो समय भारतले आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न आयातमा सीमा शु:ल्क शून्य देखि २ दशमलव ५ प्रतिशतमा झारे पछि नेपालबाट निकासी करिब ठप्प जस्तै भएको छ । गत महिना ४७ अर्ब ८८ करोड रुपैयाँको वस्तु भित्रिँदा ४ अर्ब ४५ करोड रुपैयाँको निकासी भएको देखिन्छ । गत साउनमा पोहोरको तुलनामा आयात ५ प्रतिशत घटेको देखिन्छ । निर्यात ५४ प्रतिशतको खस्किएको छ । गत साउनमा बिरगंज भन्सारबाट हुँने कुल व्यापार पनि घटेको छ । वर्ष २०७८/०७९ को साउनमा ५९ अर्ब ७९ करोड रुपैयाँको कुल व्यापार भएकोमा गत महिना यो ५२ अर्ब २४ करोडमा झरेको छ ।




