बारा, ३० भदौ ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर बारामा कांग्रेसभित्र फर्जी कागजपत्रको साहारामा एकले अर्को पक्षलाई कारवाही गरेको पत्र सार्वजनिक भएको छ ।
खानेपानी मन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन भएको ५ महिना पुरानो मितिको पत्र मंगलवार एकाएक सार्वजनिक भएको छ ।
सिम्रौनगढ नगरपालिकाका पूर्व नगरप्रमुख बिजयशंकर यादवका स्वकिय सचिव तथा जिल्ला कार्यसमिति सदस्य अरुण कुमार यादव (गड्डु) को हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जानकारी गराईएको छ । स्थानिय तह निर्वाचन पछि गठन भएको कांग्रेस बारा जिल्ला अनुशासन समिति संयोजक विनोद मणि महतो हुन् । तर, मंगलवार पूर्व मेयरका स्वकिय सचिव यादवद्धारा हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको पत्र सार्वजनिक भएको छ ।
‘पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई निलम्बन गरिएको व्योहोरा अनुरोध छ’ पत्रमा उल्लेख छ । सो पत्र सार्वजनिक भएलगत्तै चौधरीको सचिवालयले विज्ञप्ती निकालेर यादवद्धारा हस्ताक्षरित पत्र भाम्रक, झुठो र फर्जी भएको जनाएको छ ।
कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले खानेपानी मन्त्री चौधरी विरुद्ध जिल्ला अनुशासन समितिमा कुनैपनि उजुरी नै नपरेको र उनि विरुद्ध कारवाही भएको भनि सार्वजनिक भएको पत्र फर्जी भएको बताएका छन् । ‘त्यो पत्र फेक हो उहाँ विरुद्ध कुनै कारवाही भएको छैन्’ जिल्ला सभापति यादवले भने । केन्द्रमा कांग्रेस भित्र सत्तापक्ष प्रतिपक्षको लडाँईको असर जिल्लामा पनि छरपष्ट्र भएको छ । Yatra Daily




