एस.एस. पटेल, बारा, असोज २०–
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बसको ब्रेकफेल भई सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
दुर्घटनास्थलमा १० तथा ६ जना जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ ।
दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेका छन् ।




