पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु

बारा, कार्तिक ५ गते ।

पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत कर्मचारीको हात्तीको आक्रमणबाट हिजो शुक्रवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रामभोरी भाठ्ठा सेन्टरमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ डुमरवाना बस्ने रमेश महराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको कामिनी कली नाम गरेको हात्ती चराई हत्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रमण गरेको र उनी घाइते भएपछि उपचारका लागि वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफै माउते भई चराउन लिएर गएको हात्तीले एक्कासी कसरी आक्रमण गरयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।