राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो,अरु पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्ः लिङ्देन

काठमाडौ,कात्तिक ६-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा नेकपा (एमाले)सँग हुने बताएका छन् । काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरु १०० भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले नै भएको जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटक नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए । उनले कांग्रेस र माओवादीलगायतका दलका मतदाताहरुले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै कांग्रेस, कम्युनिस्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए ।

“जो नेतृत्व पटकपटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ,” उनले भने, “यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन ।”

आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्दै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको उनले बताए ।