बारा, मंसिर १३।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब थोरै मत गन्न बाँकी रहेको छ । आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९७ लाख ७१ हजार ६ सय ५७ मत गणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत मात्र खसेको थियो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ स्थानमध्ये हालसम्म एक सय ५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।
आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २६ लाख ३७ हजार ६ सय ५५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २४ लाख ९२ हजार ९ सय २५, नेकपा माओवादी केन्द्रले ११ लाख २३ हजार ७ सय ४९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८४ हजार ८ सय २७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५७ हजार ३ सय ४०, जनता समाजवादी पार्टीले ३ लाख ७३ हजार ५ सय २८ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउने पार्टीमा सिके राउत नेतृत्वको जनमत पार्टीपनि सहभागी भएको छ । उसले हालसम्म ३ लाख २९ हजार ८ सय २८ मत ल्याएको छ । जुन थ्रेस होल्ड कटाउनका लागि पर्याप्त हुन्छ ।
निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट आँकडा त आइसकेको छैन तर खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ ।




