आज सुनको भाउ १ हजार २ सय रुपैयाँले घट्यो

बारा, पुष ८ गते ।

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ९४ दशमलव ८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।