सिमरा चक्कु प्रहार घटनामा मुख्य आरोपितसहित पाँच जना नियन्त्रणमा

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये चक्कु प्रहार गर्ने मुख्य आरोपितका रूपमा २३ वर्षीय आयुश राईको नाम खुलेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार घटनालगत्तै फरार भएका राईलाई राति करिब ९ः३० बजे जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धान खेतबाट नियन्त्रणमा लिइएको हो। सिमरास्थित सम्झना स्टाफ होटलमा खाजा खाइरहेका ३५ वर्षीय शेरबहादुर खड्कामाथि होटलको भान्सामा प्रयोग हुने चक्कुले प्रहार गरी राई फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि पश्चिमतर्फको जंगल हुँदै राजमार्ग निस्किएर राई महेन्द्रनगर पुगेको सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। प्रहरीका अनुसार राईले आफन्तसँग रकम लिएर सवारीसाधनमार्फत महेन्द्रनगर पुगेका थिए।

महेन्द्रनगरमा आफन्तको घरमा लुकेर बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक **दयाकृष्ण भट्ट**को नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरी आएको थाहा पाएपछि राई उक्त घरबाट भागेर नजिकैको अर्को आफन्तको घरतर्फ गएका थिए। त्यहाँ पनि प्रहरी पुगेपछि उनी नजिकैको धान खेतमा लुक्न पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले धान खेत घेरा हालेर राईलाई नियन्त्रणमा लिएको हो। राईलाई लुक्न तथा भाग्न सहयोग गरेको आशंकामा एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनको नाम भने सार्वजनिक गरिएको छैन।

यसअघि नै प्रहरीले घटनाका क्रममा राईसँगै होटलमा आएका दुई युवालाई नियन्त्रणमा लिइसकेको थियो। घाइते खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लैजाने क्रममा उनीहरू अस्पताल पुगेका थिए। घटनाबारे सोधपुछका लागि प्रहरीले उनीहरूलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार खड्का होटलमा बसिरहेका बेला राईसहित तीन जना युवक मदिरा सेवन गरेको अवस्थामा होटलमा पुगेका थिए। उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्ने खुलेको छैन। होटल सञ्चालकले पनि विवादको कारणबारे आफूलाई जानकारी नभएको बताएका छन्।

त्यसक्रममा राईले होटलको भान्साबाट चक्कु ल्याएर खड्काको घाँटीमा प्रहार गरेको र त्यसपछि फरार भएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

गम्भीर घाइते खड्कालाई तत्काल जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै घटनाको कारण, संलग्नता र चक्कु प्रहारपछिको फरार हुने क्रममा सहयोग गर्ने व्यक्तिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।