जीतपुरसिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा–२ का करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन्।

प्रहरीका अनुसार खड्का सिमरास्थित सम्झना स्टाफ होटलमा खाजा खाइरहेको अवस्थामा चक्कु प्रहारबाट गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो।

बयोधा अस्पताल पुर्‍याएपछि चिकित्सकले ईसिजी गर्ने क्रममा खड्कालाई मृत घोषणा गरेका हुन्। उनको शव हाल बयोधा अस्पतालमै रहेको छ। प्रहरीले शवको मुचुल्का उठाउने तथा घटनासम्बन्धी थप अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार खड्का होटलमा बसिरहेका बेला चार जना युवाको समूह त्यहाँ पुगेको थियो। उनीहरू मदिरा सेवन गरेको अवस्थामा रहेको र सोही क्रममा खड्कामाथि चक्कु प्रहार भएको बताइएको छ। चक्कु प्रहार गर्ने व्यक्ति भने हालसम्म यकिन हुन सकेको छैन।

घटनापछि दुई जना युवक घटनास्थलबाट फरार भएका छन् भने अन्य दुई जना एम्बुलेन्समार्फत खड्कालाई अस्पताल लैजाने क्रममा अस्पताल पुगेका थिए। उनीहरूलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।