पर्सामा सरकारी गाडी प्रयोग गरेर क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ परेका छन्। शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो समेत नियन्त्रणमा लिइएको छ।
जनताको सेवा गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै सरकारी सवारीसाधन लिएर क्यासिनो पुगेको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएकोजनाएको छ।
अझ गम्भीर कुरा त के छ भने, नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न कानुनी प्रतिबन्ध छ। तर प्रतिबन्ध हुँदाहुँदै पनि क्यासिनोमा नेपालीहरू खुलेआम भेटिने गरेको भन्दै प्रश्न उठ्दै आएको छ।
अब प्रश्न उठेको छ—
जनताको सेवाका लागि प्रयोग हुनुपर्ने सरकारी गाडी लिएर गाउँपालिका अध्यक्ष क्यासिनोमा भेटिएपछि उनीमाथि अब के कारबाही हुन्छ?
यो घटनाले जनप्रतिनिधिको जिम्मेवारी, सरकारी स्रोतसाधनको दुरुपयोग र कानुनी शासनमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।






