चितवन, भदौ २० — रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीको बहावसँगै चितवनका विभिन्न क्षेत्रमा भेटिएका शवको संख्या ३६२ पुगेको छ। तीमध्ये १४ शवको पहिचान खुलेर आफन्तले बुझेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म ३३३ शवको डीएनए नमुना सुरक्षित राखी देवघाटस्थित जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवलाई संकेत नम्बर प्रदान गरी आवश्यक विवरणसहित अभिलेखमा राखिएको प्रहरीले जनाएको छ।
चितवनमा फेला परेका शवमध्ये ७१ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२९ शवको लिङ्ग पहिचान हुन सकेको छैन।
त्यसैगरी व्यवस्थापन गरिएका ३३३ शवमा ७३ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२७ अन्य श्रेणीका रहेका छन्। सनाखत भई आफन्तलाई बुझाइएका १४ शवमा २ महिला, ११ पुरुष र १ बालिका रहेका छन्।
प्रशासनले पहिचान हुन नसकेका शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित राखेको जनाएको छ। भविष्यमा आफन्तको डीएनएसँग नमुना मिलेको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी शव उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझाउन सकिने व्यवस्था गरिएको छ।
नदी तथा नदी किनारका क्षेत्रमा अझै शव फेला पर्ने क्रम नरोकिएकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी, शव व्यवस्थापन तथा आवश्यक समन्वयमा परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






