१४औं जीतपुरसिमरा गोल्डकपः हेटौंडालाई स्तब्ध पार्दै एपिएफ सेमिफाईनलमा

बारा, २६ चैत्र

सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटरफाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० गोल अन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जीतमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गरे ।

हेटौंडा विरुद्ध शुरुदेखिनै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८ औं मिनटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए ।

दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरीन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए ।

खेलको म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । म्यान अफ दि म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई ‘ए’ डिभीजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । बीरगञ्जलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको आर्मी विरुद्ध बिराट गोल्डकपको उपाधि लिएर बिराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लबसिधै सेमीफाइनल प्रवेशका लागि खेल्नेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।