बारामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

बारा, असोज २२ —

बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्।

प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले बुधबार राति घरायसी विवादका क्रममा श्रीमती सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी सुकुमायाको घरमै स्थानीय स्वास्थ्यकर्मी बोलाएर जाँच गरिएको थियो। उपचारपछि राति करिब ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई बिहीबार बिहान करिब ४ बजे विजयले उठाउन खोज्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्यु भएपछि विजय आफैंले बिहान अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराएका थिए। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुर तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न भएको आरोपमा विजयलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।