मछिन्द्र फूटबल क्लब जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

बारा, चैत्र ३० गते ।

मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार राति भएको पहिलो सेमीफाइनल खेलमा सलहेश युवा क्लबलाई २–० ले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा बिमल घर्ती मगर र देवेन्द्र तामाङले एक एकगोल गरे । खेलको २९औं मिनेटमा मछिन्द्रको लागि पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई बिमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै शानदार गोल गरेका थिए ।

बिमलको गोलले अग्रता पाएको मछिन्द्रको लागि पुनः पहिलो हाफको इन्जुरी समयमा कर्नर किकलाई सदुपयोग गर्दै अभिसेक गुरुङको क्रस बललाई देवेन्द्र तामाङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका थिए । निर्धारित समयमा सलहेशको तर्फबाट कुनै फर्किन सकेन ।

मछिन्द्रको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बिमल घर्ती मगर प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे ।

मछिन्द्रले त्रिभुवन आर्मी क्लब र सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबका विच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् ।