हर्दी र माडी चितवन जिल्ला लिगको सेमिफाइनलमा

चितवन, साउन १३-

हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (आइतबार) समूह बी को अन्तिम दुई खेल सम्पन्न भएसँगै हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ५ खेलमा ४ जित र एक बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । उता माडी ११ समान खेलमा ३ जित, एक हार र एक बराबरीसहित १० अंकका साथ उपविजेता बनेको छ ।

शारदानगरमा भएको खेलमा नारायणगढ एफसीलाई ३-१ ले हराउँदै माडी ११ ले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उसको जितमा रितेश क्षेत्रीले खेलको २३ औं र ६८ औं तथा सन्देश महतोले ३६ औं मिनेटमा गोल गरे । एनएफसीका राजु सेन्चुरीले ५३ औं मिनेटमा एक मात्र गोल गरे ।

उता आजै कृष्णपुरमा सम्पन्न समूह बी कै अर्को खेलमा रामपुर एफसीले एभरेष्ट क्लब चितवनलाई ६-० ले पराजित गर्‍यो । यो हार र माडीको जितका कारण एभरेष्टको यात्रा लिग चरणमा नै टुङ्गियो । रामपुरका जिताउन साहेल थापा र बिमल तामाङके ह्याट्रिक गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।