एस.एस. पटेल, बारा, साउन २० गते ।
बाराको सिमरामा साईबर सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ जीतपुरसिमरा र लायन्स क्लब अफ जीतपुर युथको संयुक्त आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
विश्वको प्रख्यात सफ्ट्वेयर कम्पनी माईक्रोसफ्टमा कार्यरत इन्जिनियर राहुल सिंहले साईबर सुरक्षा सम्बन्धी आफ्नो प्रस्तुतीकरण दिएका थिए । उनले साईबर सुरक्षा अन्तर्गत ल्यापटप, मोबाईल र सामाजिक संजाल प्रयोग गर्दा भाईरस, ह्याकिङबाट बच्ने विभिन्न उपायहरू बताएका थिए ।
इन्जिनियर राहुल सिंहले हाल विश्वमा भैरहेको साईबर अप्राधको प्रकार र त्यसबाट सुरक्षित हुने उपायहरू विस्तारमा बताएका थिए । त्यसै गरि कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दहालले साइबर अप्राधका कानुनी सजाय र नेपालमा हुने साइबर अप्राधको बारे प्रकाश पारेका थिए ।

लायन्स क्लब अफ जीतपुरसिमराका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका रिजिनल प्रसिडेन्ट कृष्णबर्त सिंह, लायन्स क्लबका संजय साह, मुकुन्द बहादुर क्षेत्री, बिभा गुप्ता, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, लायन्स क्लब अफ जीतपुर युथका ज्याकी गुप्ता लगायत सिमरा कलेजमा अध्ययनरत विधार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ जीतपुर युथका प्रिन्स गुप्ताले गर्नुभएको थियो ।



