एस.एस. पटेल, बारा, साउन २० गते ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो ७औं स्थापना दिवस मनाएको छ । संघले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय जीतपुरको सभाहलमा कार्यक्रमको आयोजना गर्दै संघको स्थापना दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजस्व कार्यालय पथलैया प्रमुख बैकुण्ठ प्रसाद सापकोटा प्रमुख आतिथि रहनु भएको थियो ।
संघको ७औँ स्थापना दिवसको अवसरमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल सरकारको कर र राजश्व नीति बारे अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मोहन शर्मा लामिछानेले २०७४ सालमा स्थापित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याइ पुर्याउनको लागि अग्रजहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सल्लाह बमोजिम अगाडि बढ्ने बताए । अध्यक्ष शर्माले यस क्षेत्रको कृषि, शिक्षा ,स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताए ।
कार्यक्रममा नेपाल सरकारले यस आर्थिक बर्ष देखि लागू गरेको कर नीति बारे आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत राजकुमार खतिवडाले जानकारी गराएका थिए भने ब्यापारीहरुले उठाएको प्रश्नको जवाफ समेत दिएका थिए । संघको ७ औं स्थापना दिवस कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष मनोज गुप्ता ,उपाध्यक्ष गजेन्द्र गुप्ता ,महासचिव प्रकास गिरी, कोषाध्यक्ष रामबाबु साह कलवार, सचिव मुकेश साह लगाएत संघका सदस्यहरू,सल्लाहकारहरु, उधोग प्रतिनिधि र बस्तुगत समिति एवम् सन्चारकर्मि हरुको उपस्थिति रहेको थियो ।



