अनिल साहलाई सुम्पियो जनकपुर बोल्ट्सको कप्तानी

बारा, मंसिर १४ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले राष्ट्रिय खेलाडी अनिल साहलाई कप्तान बनाएको छ। मंसिर १५ गते देखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मा दिएको हो। जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्।

यता एनपिएलको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले कुशल भुर्तेल, चितवन राइनोजले कुशल मल्ल, काठमाडौं गोर्खाजले करण केसी, कर्णाली याक्सले सोमपाल कामी, सुदूरपश्चिम रोयल्सले दीपेन्द्र सिंह ऐरी, लुम्बिनी लायन्सले रोहित पौडेल र विराटनगर किंग्सले सन्दीप लामिछानेलाई कप्तानिको जिम्मा दिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा एनपिएलको आठ वटै टोलीका कप्तान पुगेका थिए। सो क्रममा मैदानमा नेपाल क्रिकेट संघ क्यानले आठ वटै टोलीका कप्तानसहित लिग ट्रफी सार्वजनिक गरेको छ।