२ किलो ५०० ग्राम लागू औषध अफिम सहित बारामा २ जना पक्राउ

बारा, फागुन २० गते ।

बारामा २ किलो ५०० ग्राम लागू औषध अफिम सहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट अफिम जस्तै देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान ६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडी हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखिएको अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्ने चालक चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ३ बस्ने ५० वर्षिय संचलाल वाईवा र मोटरसाईकल सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ३ बस्ने ४८ वर्षिय हिरालाल वाईवा रहेका छन् ।