रणनीतिक रूपमा योजनाबद्ध रुट, पूर्वाधार र प्रचार गरे पर्यटनले गर्न सक्छ मधेसको कायापलट

एस.एस. पटेल, बारा, असार २२ गते ।

मधेस प्रदेश केवल राजनीतिक, सामाजिक र कृषि केन्द्र मात्र होइन, यो प्रदेश पर्यटन सम्भावनाको खानी बन्दै गएको छ । मधेस प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरले भरिपूर्ण क्षेत्र हो । तर, यी सम्पदाहरू अझै पर्यटकीय दृष्टिकोणले पूर्ण रूपमा उजागर र विकास हुन बाँकी छन् । यदि रणनीतिक रूपमा योजना बनाएर पर्यटन क्षेत्रको प्रवद्र्धन गरियो भने मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ ।

मधेसका धार्मिक स्थलहरू, ऐतिहासिक गढीहरू, पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता, ग्रामीण संस्कृति, औधोगिक पर्यटन र खुला सीमाका विशेषताहरूले स्थानीय र विदेशी पर्यटकलाई आकर्षण गर्न सक्छन् । यदि मधेस प्रदेश सरकार र संघिय सरकारले योजनाबद्ध रुट, पूर्वाधार, प्रचार र निजी साझेदारीको माध्यमबाट अघि बढ्ने हो भने, पर्यटनले मधेसको कायापलट गर्न सक्छ ।

मधेसको हरेक जिल्ला, गाउँ र सहरहरु पर्यटकीय सम्भावनाले भरिएको छ । यदि साँचो अर्थमा पर्यटनलाई “मधेस विकासको लाइफलाइन” बनाउने हो भने अब सोच मात्र होइन, कार्यान्वयनको यात्रा सुरू गर्नुपर्छ ।

पर्यटनलाई यसरी बनाउन सकिन्छ मधेस विकासको लाइफलाइन्

राष्ट्रिय निकुञ्ज, मन्दिर र इतिहासको संगम: मधेसको एक मात्र राष्ट्रिय निकुञ्ज “पर्सा राष्ट्रिय निकुञ्ज” जैविक विविधताको धनी क्षेत्र हो । यहाँ बाघ, हात्ती, धारिदार हाइना, राँगो, हजारौ प्रचातिको चरा लगायतका वन्यजन्तु पाइन्छन्, जुन साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । निकुञ्जकै क्षेत्रमा रहेको कैलास भाता मन्दिर स्थानीय आस्थाको केन्द्र हो । यस क्षेत्रलाई धार्मिक तथा प्रकृति पर्यटनका रूपमा बिकास गर्न सकिन्छ।

बारा जिल्लामा अवस्थित गढिमाई मन्दिर विश्वकै प्रसिद्ध शक्तिपीठहरूमध्येको एक हो । प्रत्येक पाँच वर्षमा आयोजना हुने महागढिमाई मेलामा करोडौ श्रद्धालु र पर्यटकहरूको आगमन हुन्छ । यसका साथै बारागढिको इतिहास र सहजनाथ मन्दिर पनि धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छन्।

इतिहासमा हराएको राजधानी सिम्रौनगढः बाराको सिम्रौनगढ, जुन कहिल्यै प्राचीन नेपाल राज्यको राजधानी थियो, आज ओझेलमा परेको ऐतिहासिक गन्तव्य हो । पुरातात्विक अध्ययन, संरचनाको संरक्षण, र प्राचीन सभ्यता सम्बन्धी संग्रहालयको स्थापना गरेर यसलाई ऐतिहासिक पर्यटन गन्तव्य बनाइने सम्भावना छ।

बाराकै चक्करी, कोल्हबी र निजगढ सामुदायिक पर्यटनको सम्भावना बोकेको छ । बाराको चक्करी गाउँ र कोल्हबी माछा गाउँ स्थानीय संस्कृति, रहनसहन र माछा पालनको विशिष्ट उदाहरण हुन्। चक्करी गाँउबाट शिद्धबाबा र चुरियामाईको मन्दिरलाई जोडेर ट्रयाकिङ समेत खोल्ने तयारी भैरहेको छ ।

राजधानी जनकपुरः धार्मिक पर्यटनको केन्द्र जनकपुरको जनक मन्दिर विश्वप्रसिद्ध धार्मिक स्थल हो। रामजानकी विवाह उत्सव, मिथिला संस्कृति र कलाले यो सहरलाई अझ विशिष्ट बनाउँछ। जनकपुरबाट अन्य जिल्लातर्फ पर्यटकीय रुट तयार पार्न सकिन्छ। भारत र नेपालको धार्मिक आस्था जोडेर जनकपुरलाई अयोध्या संग जोडेर यंहाको धार्मिक पर्यटनलाई प्रबद्र्धन गर्न सकिन्छ । जनकपुरको अन्य एतिहासिक पोखरी र धरोहरलाई पनि यसमा समाबेस सकिन्छ ।

सर्लाहीको भरत तालः जल–पर्यटनको सम्भावनाः सर्लाही जिल्लाको भरत ताल अझै पनि बाह्य पर्यटकका लागि अपरिचित छ । तर यहाँ डुंगा सयर, जलक्रीडा र पिकनिक स्थलको प्रवद्र्धन गरेर यसलाई आकर्षक जल–पर्यटन गन्तव्य बनाउन सकिन्छ ।

नेपाल–भारत खुला सिमाना र औद्योगिक भ्रमणः नेपाल–भारत खुला सिमानाका कारण भारतीय पर्यटक सहजै मधेस भित्रिन सक्छन्। त्यसको उपयोग गर्दै औद्योगिक क्षेत्रहरू (जस्तै बाराको सिमरा) मा इण्डस्ट्रियल टुरिज्म प्रवद्र्धन गर्न सकिन्छ। कारखाना, कृषि फार्म, डेरी तथा कुटिर उद्योगका भ्रमणलाई नयाँ गन्तव्यको रूपमा विकास गर्न सकिन्छ।

यता पर्सालाई पनि धार्मिक र एतिहासिक दृष्टिकोणले विकास गरि पर्यकटकलाई निम्त्यान सकिन्छ । राष्ट्रिय निकुञ्ज हुदै ठोरी यसै रुटमा पर्ने कयौ एटिहासिक मन्दिरलाई जोडन सकिन्छ । विदेशी पर्यटकलाई भारत र नेपालको नाका नेपालको प्रबेशद्धार शंकरआचार्य गेटलाई पनि पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

त्यस्तै सप्तरीको छिन्नमस्ता मन्दिर, महोत्तरीको लोहरपट्टीका पुरातात्त्विक स्थलहरूलाई पनि एतिहासिक र धार्मिक देष्टिकोणले अगाडि बढाउन सकिन्छ । यस्तै, रौतहटको नुनथर धार्मिक तथा प्राकृतिक रूपमा प्रसिद्ध छ। यस्ता गाउँलाई सामुदायिक पर्यटनको मोडेल बनाउनुले स्थानीय रोजगारी सिर्जना गर्छ।

मधेस भ्रमणका रुटहरुः

१. स्थलमार्गबाट पहुँच सजिलो बन्दै
मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरू स्थलमार्गबाट सजिलै पहुँच हुने स्थानहरूमा अवस्थित छन्। पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) र सप्तरीदेखि पर्सासम्म जोडिने राष्ट्रिय÷प्रादेशिक सडकहरूले पर्यटकलाई सहज यात्रा अनुभव दिन्छ। जनकपुर, बारा, रौतहट, सर्लाही, पर्सा लगायतका जिल्लामा सडक पहुँच राम्रो हुँदै गएको छ, जसले स्थलमार्गलाई पर्यटन विस्तारको मेरुदण्ड बनाएको छ।

२. जनकपुर र सिमरा हुँदै दुई मुख्य मार्ग
पर्यटन रुटको हिसाबले जनकपुरबाट सुरू हुने धार्मिक–सांस्कृतिक यात्रा र सिमराबाट सुरू हुने जैविक–ऐतिहासिक यात्रा, दुबैलाई सडक सञ्जालले जोडेको छ। जनकपुरबाट सप्तरी, मोत्तरी, सर्लाही र रौतहट हुँदै बारासम्म, अनि बाराबाट पर्साको अम्लेखगञ्ज, निकुञ्ज र ठोरीसम्म सवारी यातायात सजिलो छ। सार्वजनिक बस, टेम्पो र निजी सवारीको प्रयोग गरेर यो रुटमा पर्यटक सजिलै यात्रा गर्न सक्छन्।

३. अन्तरदेशीय स्थल यात्रा सहज — भारतसँग खुला सिमाना
नेपाल–भारत खुला सिमानाका कारण स्थलमार्गबाट भारतका पर्यटकहरू मधेस सजिलै प्रवेश गर्न सक्छन्। रक्सौल–वीरगञ्ज, भिट्टामोड–जनकपुर, जलेश्वर–सीतामढी, गौर–बैरगनिया, मलंगवा–सोनबरसा जस्ता नाका मार्फत धार्मिक, व्यापारिक र पारिवारिक पर्यटकहरू नियमित आउजाउ गर्छन्। यी सीमास्तम्भहरूलाई पर्यटकीय ‘इन्ट्री गेट’को रूपमा प्रवद्र्धन गर्न सके थप पर्यटक आकर्षण गर्न सकिन्छ।

४. हवाई यातायातः जनकपुर र सिमरा हुँदै प्रवेश
मधेस प्रदेशमा हाल दुई प्रमुख विमानस्थल सञ्चालनमा छन् — जनकपुर विमानस्थल (धनुषा) र सिमरा विमानस्थल (बारा)। काठमाडौँबाट दैनिक उडानहरू उपलब्ध छन्, जसले आन्तरिक पर्यटकको आगमनमा सहजता ल्याएको छ। भविष्यमा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनमा अन्तर्राष्ट्रिय बूम ल्याउने अपेक्षा गरिएको छ।

५. यातायात पूर्वाधार सुधार आवश्यक
यद्यपि पहुँचमा सहजता देखिए पनि धेरै पर्यटकीय गन्तव्यहरूमा अझै गुणस्तरीय सडक, संकेत चिह्न, ट्राफिक सुविधा र सार्वजनिक यातायातको अभाव देखिन्छ। अम्लेखगञ्जको हात्ती सफारी र शिद्धबाबा ट्रेकिङ क्षेत्रमा पहुँचको अभाव छ भने सिम्रौनगढ र गढीमाई क्षेत्रका सडकहरू स्तरोन्नति गर्न जरुरी छ । स्थानीय तह, प्रदेश सरकार र पर्यटन मन्त्रालयको समन्वयमा यातायात पूर्वाधारलाई प्राथमिकता दिएर पर्यटन विकासमा टेवा पुर्यान सकिन्छ।

रुट १ः राजधानी जनकपुरधामबाट सुरु हुने धार्मिक–सांस्कृतिक र जल–पर्यटन यात्रा
१. जनकपुरधामः जनक मन्दिर, विवाह मण्डप, मिथिला संस्कृति संग्रहालय
२. सप्तरीको छिन्नमस्ता मन्दिर
३. महोत्तरी — लोहरपट्टीका पुरातात्त्विक स्थलहरू
४. सर्लाही — भरत तालः जल–पर्यटनको सम्भावना
५. रौतहट — नुनथरः ग्रामीण पर्यटन र अध्यात्मिक आकर्षण
६. बारा — चक्करी गाउँ र कोल्हबी माछा गाउँः सामुदायिक जीवन
७. बारा — सहजनाथ मन्दिर, गढिमाई मन्दिर, सिम्रौनगढ एतिहासिक गन्तव्य
८. पर्साः — राष्ट्रिय निकुञ, ठोरी, गेट्वे अफ नेपाल

रुट २ः बारा सिमरादेखि सुरु हुने साहसिक, ऐतिहासिक र जैविक पर्यटन यात्रा
१. सिमरा — औद्योगिक भ्रमण
२. बारा — गढिमाई मन्दिर
३. बारागढी — ऐतिहासिक स्थल
४. सिम्रौनगढ — हराएको राजधानी
५. पर्सा — भाता मन्दिर
६. पर्सा राष्ट्रिय निकुञ्जः अम्लेखगञ्जबाट हात्ती सफारी, शिद्धबाबा मन्दिर ट्रेकिङ, चुरियामाई मन्दिर
७. पर्सा — ठोरी क्षेत्र