काठमाडौँ, फागुन २० —
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ। परिषद्ले निर्वाचन प्रक्रियामा सुरक्षा सम्बन्धी कुनै अभाव हुन नदिने निर्णयसमेत गरेको छ।
सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले देशभरको सुरक्षा अवस्थाको समीक्षा गरेको थियो। छलफलका क्रममा निर्वाचनका लागि आवश्यक सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको निष्कर्ष निकालिएको बताइएको छ।
रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सुरक्षा निकायबीच अझ सशक्त समन्वय गर्दै प्रभावकारी परिचालन गरिनेछ।
बैठकमा राष्ट्रिय सुरक्षासम्बन्धी चुनौती, क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमका प्रभाव र भावी रणनीतिका विषयमा पनि विस्तृत विचारविमर्श भएको थियो।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो।




