वीरगन्ज-
वीरगन्ज मा विवाहेत्तर सम्बन्धका कारण एक प्रहरी जवानको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी मा कार्यरत पर्साको कालिकामाई गाउँपालिका–१, मुडली निवासी २८ वर्षीय विकास चौरसियाको आइतबार राति वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा हत्या भएको हो।
प्रहरीका अनुसार, चौरसियाको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहट, माधवनारायण नगरपालिका–१, दिपहीका २६ वर्षीय सन्तोष साह र उनकी श्रीमती २४ वर्षीया सोनी कुमारी साहको कोठामा चौरसिया पुगेका थिए।
सोही क्रममा उनीमाथि आक्रमण गरी हत्या गरिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष साह, उनकी श्रीमती सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ का १९ वर्षीय विशाल साह तथा भारतको उत्तरप्रदेश, अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई नियन्त्रणमा लिएको छ। उनीहरूले संयुक्त रूपमा मिलेर चौरसियाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पर्सा प्रहरी प्रमुख सुदीपराज पाठक का अनुसार चौरसिया र सोनी कुमारीबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले पत्नीमार्फत चौरसियालाई फोन गरेर कोठामा बोलाएका थिए।
चौरसिया कोठामा पुगेपछि चारै जनाले मिलेर टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




