जरायोको मासुसहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना पक्राउ

वैशाख ११ गते ।

पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित कोर एरियाबाट जरायोको मासुसहित दुई जना पक्राउ परेका छन् । निकुञ्ज सुरक्षार्थ श्री सबुज गणबाट खटिएको नेपाली सेनाको टोलीले जेठ ८ गतेनै उनीहरूलाई पक्राउ गरेको हो ।

केही दिन अघिनै घटना भएपनि निकुञ्ज प्रशासनले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन ।पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जरायोको मासुसहित दुई जना पक्राउ परेको पुष्टि गरे । घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले अनुसन्धान प्रभावित हुन नदिन नाम गोप्य राखिएको भगतको भनाई छ ।

भगतका अनुसार पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि निकुञ्जको नियन्त्रणमा राखिएको छ । निकुञ्जले वन्यजन्तु चोरीसिकार तथा अवैध मासु ओसारपसारसँग सम्बन्धित मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ ।