२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै कुरीति विरुद्ध अभियान, सयौँ यजमान गुमाए पनि रोकिएनन् पण्डित गणेशप्रसाद पन्त

गणेशप्रसाद पन्त ले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति अन्त्यका लागि अभियान सञ्चालन गर्दै आएका छन्। पाटन नगरपालिका–८ खोड्पे जसुलीखाली निवासी पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, विवाह, व्रतबन्ध, न्वारन, गृहप्रवेश, वास्तुपूजा लगायतका चार सयभन्दा बढी धार्मिक कार्य सम्पन्न गरिसकेका छन्।

गणेशप्रसाद पन्त का अनुसार उनले हालसम्म ३७ सप्ताह, २३ शिवपुराण, २८७ लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, ६७५ सत्यनारायण पूजा, ५८३ ग्रहशान्ति, २९ शतचण्डी र ५५ अखण्ड रामायणसहित सयौँ धार्मिक अनुष्ठान दलित बस्तीमै सम्पन्न गरिसकेका छन्।

वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग का मूल पुजारीसमेत रहेका पन्तले सामाजिक विभेद हटाउने उद्देश्यले १,३७५ जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको र २९९ दलित महिलालाई दूधागो (दोरक) धारण गराएको जानकारी दिएका छन्। उनले धर्मग्रन्थमा जातीय वा लैङ्गिक विभेदको व्यवस्था नभएको उल्लेख गर्दै समाजमा अझै कायम छाउपडी प्रथा र जातीय भेदभाव अन्त्य गर्न धार्मिक अगुवाहरू अग्रसर हुनुपर्ने बताएका छन्।

उनका अनुसार सुदूरपश्चिमका धेरै ठाउँमा अझै पनि दलित समुदायका घरमा न्वारन, विवाह वा व्रतबन्ध गर्न ब्राह्मणहरू नजाने तथा चिहानघाटसम्म विभेद हुने अवस्था रहेको छ। त्यसैले आफूले दलित समुदायका घरमा धार्मिक कार्य मात्र नभई भोजनसमेत ग्रहण गर्दै आएको उनले बताएका छन्।

सामाजिक कुरीति विरुद्धको अभियानकै कारण आफ्ना पुर्ख्यौली ५७५ गैरदलित यजमान गुमाउनुपरेको पन्त बताउँछन्। सामाजिक सञ्जालमा गालीगलौज र आलोचना खेप्नुपरे पनि आफू धर्म र सामाजिक सुधारको अभियानबाट पछि नहट्ने उनको भनाइ छ।

उनले प्रत्येक हिन्दू परिवारमा वेद, पुराण, तुलसी, शालिग्राम तथा धार्मिक संस्कारको संरक्षण हुनुपर्नेमा जोड दिँदै सबै धार्मिक क्षेत्रमा समावेशी पूजा–पाठको व्यवस्था हुनुपर्ने बताएका छन्। साथै, विभेदकारी मानिने धार्मिक व्याख्या र प्रचलनहरू समयानुकूल सुधार हुनुपर्ने उनको धारणा छ।