चितवनमा जेठ २ गतेदेखि एक साता किराना व्यवसाय बन्द गर्न आह्वान

किराना व्यवसायी संघ–चितवनले एक साता सम्पूर्ण किराना व्यवसाय बन्द गर्न आह्वान गरेको छ ।

बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमणले चितवनका किराना व्यवसायीहरु पनि धमाधम संक्रमित हुन थालेको भन्दै आउँदो जेठ २ गतेदेखि ९ गतेसम्म सम्पूर्ण किराना व्यवसाय बन्द गर्न संघले आह्वान गरेको छ ।

संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा किराना व्यवसायीको सुरक्षामा कसैको ध्यान नगएकाले आफ्नो ज्यान सुरक्षित गर्न आफै सचेत हुने बेला भएकाले एक साताका लागि व्यवसाय बन्द गर्न आह्वान गरिएको उल्लेख छ । संघका अध्यक्ष श्रेष्ठले भने–‘आफ्नो ज्यानलाई बाजी राखेर आजसम्म व्यवसायीहरुले सेवा प्रदान गरेका छन्, आफू पनि बच्न र अरुलाई पनि बचाउनका लागि एक साता व्यवसाय बन्द गर्ने निर्णयमा पुगेका हौँ ।’

संघका अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म १० जना भन्दा बढीमा व्यवसायीहरुमा संक्रमण पुष्टि भएको छ ।