बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार राति जमुनिया खोलाको किनारमा शव फेला परेपछि नेपाल प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक भारतीय नागरिक रहेको खुलेको छ। मृतकको औपचारिक पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भारतमा रहेका उनका आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जमुनिया खोलाको किनारमा बेवारिसे अवस्थामा शव देखेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ रहेको पिपरपाती प्रहरी चौकीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक समसुदिन मिया तेलीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर समेत घटनास्थलमा पुगेर घटनाबारे स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान गरेका थिए। प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै मृत्युको कारण खुल्ने गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरी प्रवक्ता घलेका अनुसार शवलाई पोस्टमार्टम (शल्यपरीक्षण) का लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। शल्यपरीक्षण प्रतिवेदन र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
नेपाल–भारत खुला सीमासँग जोडिएको क्षेत्र भएकाले घटनाका सबै पक्षलाई ध्यानमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको मृत्यु कसरी र किन भयो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक निष्कर्ष ननिस्किएको भन्दै प्रहरीले अनुसन्धान पूरा नभएसम्म कुनै अनुमानमा नपुग्न आग्रह गरेको छ।






