काठमाडौँ, असार २२ —
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभएको छ। राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको जानकारी दिनुभयो।
मन्त्री पोखरेलका अनुसार चालु आर्थिक वर्षको तुलनामा बजेटको प्रतिशत केही घटे पनि रकमका हिसाबले करिब ७ अर्ब रुपैयाँ वृद्धि भएको छ। विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट छुट्याइएको छ भने उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, खेलकुद र व्यवस्थापनका लागि पनि छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको छ।
मन्त्री पोखरेलले आगामी वर्ष सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड विस्तार, विद्यालय पूर्वाधार निर्माण, शिक्षक तालिम, सीप विकास कार्यक्रम, डिजिटल शिक्षाको विस्तार तथा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। साथै, एसईई परीक्षा सञ्चालनका लागि प्रदेश तहमा बजेट व्यवस्था गरिएको जानकारी पनि दिनुभयो।
उहाँले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन, न्यून विद्यार्थी भएका विद्यालयको पुनर्संरचना, सार्वजनिक विद्यालयको गुणस्तर सुधार तथा अनुसन्धानमुखी र प्रतिस्पर्धी उच्च शिक्षाको विकासमा सरकारले विशेष जोड दिएको बताउनुभयो। अपाङ्गता भएका बालबालिका, दलित तथा लक्षित समुदायका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको र प्रत्येक प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा इन्टरनेट सेवा, सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा डिजिटल शिक्षाको विस्तारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा शिक्षामा लगानी थप बढाउँदै लैजाने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार र सम्मानको व्यवस्था आगामी वर्ष पनि निरन्तर रहने बताउनुभयो।






