बारा। जीतपुरसिमरा उपमहानगरपालिकामा पान (PAN) नम्बर बन्द गर्ने क्रममा व्यवसाय फाँटका एक कर्मचारीले सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ। सेवाग्राहीले सरकारी शुल्कभन्दा बढी रकम कर्मचारीलाई बुझाउनुपरेको दाबी गरेका छन् भने सम्बन्धित कर्मचारीले आवश्यकभन्दा बढी रकम लिइएको स्वीकार गर्दै गल्ती भएको र अतिरिक्त रकम फिर्ता गरिने बताएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित न्यु सायमा स्टिल फर्निचरका सञ्चालक एहसानुल हक अन्सारी पान नम्बर बन्द गर्न उपमहानगरपालिकाको व्यवसाय फाँटमा पुगेका थिए। अन्सारीका अनुसार सुरुमा दस्तुर र जरिवाना गरी करिब २२ हजार रुपैयाँ लाग्ने जानकारी दिइएको थियो।
उनका अनुसार व्यवसाय फाँटका कर्मचारी अनिल विश्वकर्माले पछि “हामी मिलाएर १७ हजार रुपैयाँमै काम गरिदिन्छौं” भन्दै रकम मागेका थिए। त्यसपछि आफूले १७ हजार रुपैयाँ बुझाएको र पान बन्द गर्ने प्रक्रिया सम्पन्न भएको अन्सारीले बताए।
तर काम सम्पन्न भएपछि उनलाई ९ हजार ६ सय रुपैयाँको मात्र सरकारी रसिद दिइएको उनले बताए। आफूले बुझाएको रकम र सरकारी रसिदमा उल्लेख भएको रकमबीच ठूलो अन्तर देखिएपछि जिज्ञासा राख्दा कर्मचारीले “बाँकी रकम मिलाउन खर्च भएको हो” भन्ने जवाफ दिएको अन्सारीको दाबी छ। यसै आधारमा उनले आफूबाट घुसस्वरूप रकम लिइएको आरोप लगाएका छन्।
यता आरोपबारे प्रतिक्रिया दिँदै व्यवसाय फाँटका कर्मचारी अनिल विश्वकर्माले सेवाग्राहीबाट आवश्यकभन्दा बढी रकम लिइएको स्वीकार गरेका छन्। उनले यो गल्तीवश भएको दाबी गर्दै अतिरिक्त रकम सेवाग्राहीलाई फिर्ता गरिने बताएका छन्। उनले भने, “धेरै पैसा लिइएको मिस्टेक भएको हो, उहाँको रकम फिर्ता गरिदिन्छौं।”
घटनाले स्थानीय तहबाट प्रदान गरिने सेवामा पारदर्शिता र आर्थिक अनुशासनमाथि प्रश्न उठाएको छ। यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाज उठ्न थालेको छ।






