घुस आरोप लागेका कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरबाट हटाइयो

बारा। सेवाग्राहीसँग घुस लिएको आरोप सार्वजनिक भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले व्यवसाय फाँटमा कार्यरत करारका कर्मचारी अनिल विश्वकर्मालाई सेवाबाट हटाएको छ।

उपमहानगरपालिकाका अनुसार पान (PAN) नम्बर बन्द गर्ने क्रममा सेवाग्राहीसँग सरकारी शुल्कभन्दा बढी रकम लिएको विषय सार्वजनिक भई समाचार प्रकाशन भएपछि घटनाको प्रारम्भिक जानकारी संकलन गरिएको थियो। त्यसक्रममा करार सेवामा कार्यरत कर्मचारी विश्वकर्मालाई तत्कालदेखि लागू हुने गरी कामबाट हटाइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले सार्वजनिक सेवामा कुनै पनि प्रकारको आर्थिक अनियमितता वा सेवाग्राहीमाथि हुने दुव्र्यवहारप्रति शून्य सहनशीलता (Zero Tolerance) को नीति अवलम्बन गरिएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि आवश्यक कारबाही गरिने जनाएको छ।

यसअघि जीतपुरसिमरा–७ स्थित न्यु सायमा स्टिल फर्निचरका सञ्चालक एहसानुल हक अन्सारीले पान नम्बर बन्द गर्ने क्रममा व्यवसाय फाँटका कर्मचारी अनिल विश्वकर्माले सरकारी रसिदभन्दा बढी रकम लिएर घुस असुलेको आरोप लगाएका थिए। घटनाबारे समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाले तत्काल कदम चाल्दै सम्बन्धित कर्मचारीलाई सेवाबाट हटाएको जनाएको छ।

उपमहानगरपालिकाले घटनासम्बन्धी थप आवश्यक प्रक्रिया तथा छानबिन पनि कानुनबमोजिम अगाडि बढाइने जनाएको छ।