जितपुरमा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको हो।

बैठाको आफ्नै घरको आगनबाट ७० पोका गरी ३ सय ८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३ सय ५० ग्राम गरी जम्मा १ किलो ७ सय ४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बैठालाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय जितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।