बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा । बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ।

फेटा गाउँपालिका–७ कुकुरभुक्कास्थित स्थानीय रुप नारायण साह कानुको घरमा धार्मिक कार्यक्रमका लागि साउन्ड सिस्टम जडान गर्ने क्रममा स्थानीय १८ वर्षीय गणेश साह तेलीलाई करेन्ट लागेको हो।

प्रहरीका अनुसार पूजामा भजन–कीर्तनको तयारी भइरहेको थियो। सोही क्रममा स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम सङ्कलन गरी खरिद गरेको साउन्ड सिस्टमको एम्प्लीफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनापछि मृतकका परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।