भोटेकोशी बाढीपछि रसुवामा रहेका महोत्तरीका ११ जना सम्पर्कविहीन, परिवार चिन्तित

महोत्तरी, भदौ ११ — भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा क्षेत्रमा रहेका महोत्तरीका ११ जना व्यक्तिसँग सम्पर्क हुन नसक्दा उनीहरूका परिवारजन चिन्तित बनेका छन्।

रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा अन्य कामका लागि त्यस क्षेत्रमा पुगेका ११ जना हालसम्म परिवारको सम्पर्कमा नआएको महोत्तरी प्रशासनले जनाएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्ने प्रयास भइरहेको छ। अवस्था पुष्टि भएपछि सम्बन्धित परिवारलाई जानकारी गराइने उनले बताए।

“अहिलेसम्म ११ जना सम्पर्कविहीन रहेको जानकारी आएको छ। उनीहरूको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी यादवले भने, “यस बाहेक जिल्लाका अन्य व्यक्तिको सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छैन।”

सम्पर्कविहीन हुनेमा बर्दिवास–३ का सौभाग्य विष्ट, बर्दिवास–९ की जया रानामगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर र लोहारपट्टी–७ का युवराज पाण्डे रहेका छन्।

त्यस्तै, गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, उनकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली पनि सम्पर्कविहीन रहेका छन्। उनीहरूमध्ये अधिकांश रसुवास्थित विभिन्न जलविद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेको बुझिएको प्रशासनले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी थप जानकारी लिने कार्य जारी रहेको छ।