भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं, भदौ १० — चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवा र धादिङले बुधबार विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेको र तटीय क्षेत्रमा जोखिम बढेको जनाएको छ। चीनतर्फ भारी वर्षा वा हिमताल विस्फोटका कारण बाढी आएको हुन सक्ने अनुमान गरिए पनि यसको वास्तविक कारण भने खुल्न बाँकी रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्न सक्ने देखिएको छ।

प्रशासनले नदी किनारमा माछा मार्ने, बालुवा निकाल्ने तथा अन्य काममा संलग्न व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदी तटीय क्षेत्रमा रहेका आयोजना, कार्यालय तथा स्थानीय बासिन्दालाई पनि आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन भनिएको छ।

विपद् वा जोखिमको अवस्था देखिएमा स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। अर्को सूचना जारी नभएसम्म नदी आसपासका क्षेत्रमा नजान र सतर्क रहन सबैलाई आग्रह गरिएको छ।