जन्मदिनमा शालिकराम अधिकारीको सामाजिक पहल, दुई विद्यार्थीको शैक्षिक खर्चमा सहयोग

सिमरा — आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सिमराका शिक्षक तथा सामाजिक अभियन्ता शालिकराम अधिकारीले बाराको अमलेखगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीको शैक्षिक खर्चका लागि सहयोग गरेका छन्। जन्मदिनको अवसरमा अधिकारीले कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थीका लागि आवश्यक शैक्षिक खर्च विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

जन्मदिनको खुसी आफूमै सीमित नराखी विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले यस्तो पहल गरेको अधिकारीले बताएका छन्। सहयोग रकम ठूलो नभए पनि यसले विद्यार्थीको पढाइलाई निरन्तरता दिन तथा भविष्य निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ।

अधिकारीले जन्मदिनलाई केवल उत्सवका रूपमा मनाउनुको सट्टा सकेसम्म शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकतामा सहयोग गरेर अर्थपूर्ण बनाउन सबैलाई आग्रहसमेत गरेका छन्।

सिमरा क्षेत्रमा कुशल शिक्षकका रूपमा परिचित अधिकारी पछिल्लो समय सामाजिक गतिविधिसँगै राजनीतिमा समेत सक्रिय हुँदै आएका छन्। उनले वर्षौंदेखि विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिमा सहयोग गर्दै आएका छन्। विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा आवश्यकताअनुसार सहयोग गर्ने उनको पहल यसअघि पनि हुँदै आएको छ।

जन्मदिनको अवसरमा गरिएको सहयोगलाई उनले सामाजिक उत्तरदायित्वकै निरन्तरताका रूपमा लिएका छन्। “दिएको उपहार एक दिन सकिन सक्छ, तर दिएको शिक्षाले एउटा जीवन नै बदल्न सक्छ” भन्ने भावनासहित विद्यार्थीको शिक्षासँग आफ्नो जन्मदिनको खुसी जोड्न पाएकोमा अधिकारीले सन्तुष्टि व्यक्त गरेका छन्।